होमपेज / समाज
काठमाडाैं । दुई महिनादेखि काठमडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ ।
पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहोर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।शहरका चोक, गल्लीमा लामो समयदेखि फोहोर थुप्रिएको छ ।
काठमाडौं उपत्यकाबाट आज २८७ वटा फोहोर बोकेका गाडी बञ्चरेडाँडामा पुगेका छन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार फोहोर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहोर व्यवस्थापन हुने बताएका छन।
बालेनले काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने पनि उल्लेख गरेका छन् । साहले काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति आफू सचेत भएको पनि बताए ।
बिहीबारबाट साविक बमोजिम फोहर व्यवस्थापन कार्य भएकाे छ। फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच चार बुँदे सहमतिपछि फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।
हरेक दिन काठमाडौं उपत्यकाबाट बञ्चरेडाँडामा एक हजार दुई सय मेट्रिक टन फोहर व्यवस्थापन हुँदै आएको छ। यसमा सबैभन्दा बढी काठमाडौं महानगरबाट पाँच सय मेट्रिक टन फोहोर निस्कने गरेको छ।
कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन सकेकाे छैन।