ट्रेण्डिङ

होमपेज / समाज

अलैँचीको घरेलु खपत न्यून भएकामा चिन्ता

नेपालगाथा २०७९ भाद्र ३ गते शुक्रबार १३:४७:१८ मा प्रकाशित

काठमाडौैं । ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उहाँले बताउनुभयो ।विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरुसँग भेटघाट र अलैँचीखेती अवलोकनका लागि आज झापा आइपुग्नुभएको हो ।

नेपाल अलैँची व्यवसायी महासङ्घले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग ९एसडिसी०सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैँची’ अभियान सुरु गरेको छ । मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर हुनुहुन्छ ।“विदेशमा रहँदा अलैँचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन”, जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उहाँले भन्नुभयो, “जब मैले बिबिसी मास्टर सेफमा भाग लिएँ । त्यहाँ अलैँचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।”

विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैँचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको उहाँले बताउनुभयो । नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उहाँको भनाइ छ ।
    चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैँचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवद्र्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

पाँच प्रतिशत मात्र घरेलु खपत

नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले बताउनुभयो ।सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उहाँले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने धारणा व्यक्त गर्नुहुन्छ ।

महासङ्घको तथ्याङ्कअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ । नेपालबाट वार्षिक रु सात अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ । अरबी मुलुकमा मासुमाछामा मसलाका रुपमा अलँैचीको उपभोग हुने गरे तापनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ । अलैँचीलाई औषधीय गुण भएको मसला मानिन्छ ।

घरेलु उपभोग र बजार प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासङ्घको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुङ्गानाले बताउनुभयो ।

‘ब्रान्ड एम्बेसडर’ साहले आजै इलामको रोङ गाउँपालिकास्थित जिर्मलेमा अलैँची खेतीको अवलोकन गर्ने र त्यहाँका कृषकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको ढुङ्गानाले जानकारी दिनुभयो । अवलोकनमा दातृ संस्था स्वीस विकास सहयोग ९एसडिसी० र अलैँची व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top