होमपेज / समाज
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका स्थानीय नेताहरूको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर बोकेका २०० गाडी पास हुन सकेको छैनन् ।
सम्झौता पटक-पटक भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले सदाका लागि फोहोर विसर्जन अन्त्य गरिनुपर्ने भन्दै अवरुद्ध गरेका हुन् । स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बिहानैदेखि काठमाडौंको फोहोर बोकेका २०० गाडी पास हुन नसकेको बताए । “स्थानीयको आन्दोलन जारी छ । गएरातिको सहमतिपछि अवरोध नहोला भनेर काठमाडौंबाट फोहोरका गाडी पठाइएको थियो । तर, अवरोध हटेन,” उनले भने ।
नेकपा माओवादी केन्द्रका विष्णु तामाङ रहरले नभएर बाध्यताका कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले फोहोर व्यवस्थापनको नाममा १७४ वटा सहमति भए पनि कार्यान्वयन नभएको बताए । ‘सधैं जनतालाई फोहोरको दुर्गन्ध सुघाउँन बाध्य बनाउने र प्रहरीको लौरो खानुपर्ने बाध्यता छ,’ उनले कान्तिपुरसित भने, ‘यहाँका स्थानीय जनताले पाउनुपर्ने अधिकारलाई राज्यले दमन गर्ने, पटक पटकको आन्दोलन हुने अनि सहमति गर्ने काम भयो तर कार्यान्वयन कहिल्यै भएन । १७ वर्षसम्म पूरा नभएको कुरा अब हुन्छ जस्तो लाग्दैन । अब हामी १७५ वटा सहमति गदैनौं ।’
अवरोधकैबीच आइतबार जम्मा २५ गाडी ल्याण्डफिल साइटमा पुगेका थिए ।