होमपेज / समाज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् ।
उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेकाले घरघडेरी बेचेर उपचार गर्ने अवस्था समेत नरहेको बताए ।
उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए ।
“भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भन्ने मात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन, अब राज्यको सम्पति भनेर पास गरिसकेको छु । किनभने, म देशका लागि समर्पित छु । त्यसकारण मेरो घर म बाचुन्जेल, मेरो श्रीमती बाचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ । बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने हो, नत्र मसँग पैसा छैन । सांसद छु, सांसदको हिसावले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ,” आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “मेरो डेडिकेसन छ, तर इनएक्टिभ खालको होइन, एक्टिभ छ । जबसम्म म जीवित रहन्छु, देशका लागि, जनताका लागि रहन्छु । कुन्ति मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भनेझैँ छु । गीत पनि गाउँदै गर्छु, अघि पनि बढ्दै गर्छु । आफ्नो कुरामा, आफ्नो अभियानमा म अघि बढिरहन्छु ।”