होमपेज / समाज
काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडि बढाइएको छ ।
०७३ सालदेखि नै नो हर्न लागु भए पनि कोरोनालगायत कारणले अभियान सुस्ताएको थियो । आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई प्रभावकारी रूपमा सुरु गरिएको जानकारी गराइएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरे ।
हर्न बजाएको पाइए एकपटकमा ५०० रुपैयाँ जरिवाना हुने एसएसपी राजेन्द्र भट्टले बताए।उनले भने, “विगतमा हर्न बजाउन निकै कम भइसकेको थियो । अहिले फेरि बढेको देखिन्छ । ज्रेबा क्रसिङमै हर्न बजाइदिने, रेड लाइट बल्दा पनि हर्न बजाइदिने, ओभरटेक गर्दा हर्न बजाउने प्रवृत्ति बढी देखियो । त्यसैले यसलाई निरुत्साहित पार्न कडाइका साथ हामी परिचालित हुन्छौँ ।”