होमपेज / समाज
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले यस्तो बताएका हुन् ।
कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उनले बताए । 'बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ । त्यसका लागि हामी प्रयत्नशील छौँ । अधिकांश बन्दी गृहहरु, कारागारहरु सहर बजारको मध्यभागमा नै छन् । मध्य भागका जेलहरुलाई बाह्य भू–भागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरुको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको छ । जेलको क्षेत्रफल पनि ठूलो होस् । उनीहरुलाई मनोरञ्जन लगायत कामहरु पनि गर्न सकियोस् । कृषि उत्पादनमा पनि उनीहरुलाई उपयोग गर्न सकियोस् भन्ने हाम्रो ध्येय र धारणा हो । त्यसका लागि शहर, बजारको मध्यभागमा रहेका बन्दीगृहहरुलाई शहर बजारको किनारमा सार्ने जनताको माग पनि छ,' उनले भने ।