होमपेज / समाज
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
शुक्रवार संसद बैठकमा सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्ने तर भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताएकी हुन् । नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने उनको भनाइ थियो ।
उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावधान हटाइ सात वर्षको समयावधी नराखिए राष्ट्रियतामा दूरगामी असर पर्ने दाबी गरिन् ।
‘नागरिकता कुनै पनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुनेगरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन हुन्छ । त्यसमा विदेशी महिलाहरूले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशले अलगअलग समय दिएर राखेको अवस्था छ,’ उनले भनिन्, ‘नेपालले नागरिकता प्रदान गर्ने विधि कठोर बनाउनुपर्छ फितलो होइन भनेर संविधानसभामा नै संशोधनसहित समर्थन गरेका थियौँ ।’