होमपेज / समाज
काठमाडौँ । यस वर्षकाे अन्तर्राष्ट्रिय युवा दिवस ‘अन्तरपुस्ता ऐक्यबद्धता सबै उमेर समूहमैत्री विश्व निर्माणमा प्रतिवद्धता’ भन्ने नाराका साथ नेपालमा पनि भव्य रुपमा मनाइने भएको छ । यही श्रावण २७ गते सो दिवस मनाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बिहीबार मूल समारोह समिति गठन गरिएको हो । युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि सो मूल समारोह समिति गठन गरिएको मन्त्री गहतराजले बताए । उनले सो दिवसलाई देशव्यापी बनाउन सबै प्रदेश र स्थानीय तहहरुमा पनि विभिन्न रचनात्मक खालको कार्यक्रमको आयोजना गरी मनाउन आग्रह गरिने जानकारी दिए ।
सो दिवसको अवसरमा राष्ट्रियसभा गृहमा विशेष समारोह आयोजना गरिनेछ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुने राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । सो दिन बिहान काठमाडौँको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुनेछ । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, नेपाल स्काउट, राष्ट्रिय खेलकुद परिषदको समेत सहभागिता हुनेछ ।
‘अन्तरपुस्ता ऐक्यबद्धता सबै उमेर समूहमैत्री विश्व निर्माणमा प्रतिवद्धता’ भन्ने मूल नारा यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको तय गरिएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रुपमा सो दिवस मनाउने गरिन्छ ।