ट्रेण्डिङ

होमपेज / समाज

'विश्वविद्यायमा तालाबन्दी अस्वीकार्य' - शिक्षामन्त्री पौडेल

नेपालगाथा २०७९ श्रावण ५ गते बिहीबार १६:३३:३० मा प्रकाशित

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौँ विश्वविद्यालय, व्यवस्थापन संकाय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको उच्चशिक्षाको समस्या र समाधान विषयक छलफलमा उनले कुनै समस्या भएमा विश्वविद्यायको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्नेगरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापक पक्षसँग आग्रह गरे । 

मन्त्री पौडेलले सो क्रममा थप समस्या आएमा सहजीकरणका लागि मन्त्रालय तयार रहेको तर तालाबन्दी प्रथालाई मान्यता दिन मन्त्रालय असमर्थ रहने स्पष्ट गरे । उनले मुलुकभित्रका विश्वविद्यालयमा सर्वसुलभ, गुणस्तर र अनुसन्धानमुखी शिक्षा विस्तार गरेर पढ्न र कामका लागि युवा विदेशिने क्रम न्यून गर्नुपर्नेमा पनि जोड दिए । मन्त्री पौडेलले विश्वविद्यालय र विद्यालय तहलाई एकआपसमा जोड्ने, स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा ९० दिन विद्यालयमा इन्टरर्नसिप गर्ने गरी कार्यविधि ल्याइने र विश्वविद्यालयको नियमनका लागि उच्चशिक्षा ऐन ल्याइने जानकारी दिए । 

शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थी भिसामा विदेश जाने युवामध्ये १० प्रतिशतले मात्रै विदेशमा अध्ययन गर्ने भएकाले तिनलाई स्वदेशमै टिकाउनु चुनौतीपूर्ण भएको बताए । अर्का शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयलाई स्वायत्त  र प्रतिस्पर्धीरुपमा सञ्चालन गर्न सुझाव दिए । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top