ट्रेण्डिङ

होमपेज / समाज

हातमा हजार हजारको नोट पाउँदा मख्ख भए बालबालिकाहरु

गरिब तथा असहायलाई किडार्क नेपालको सहयोग

नेपालगाथा २०७८ आश्विन २३ गते शनिबार ०८:२०:१८ मा प्रकाशित

सुर्खेत । सरस्वती आधारभूत विद्यालय ठौरीमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय विवेक चौधरी शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को कार्यालयमा निकै खुशी देखिन्थे । युनिसेफको सहयोगमा किडार्क नेपालले ‘कोभिड १९ तथा अन्य कारणले अति जोखिममा परेका बालबालिकालाई नगद सहयोग हस्तान्तरण कार्यक्रम’ अन्तरगत वितरण गरेको हजार हजारका ४ वटा नोट समात्न पाएकोमा विवेक निकै मख्ख देखिन्थे । 


विवेक मात्र होइन विवेक जस्तै असहाय र गरिब अन्य ७ जना बालबालिकाले ४÷४ हजारका दरले नगद सहयोग पाएका हुन् । नगद रकम हस्तान्तरण गर्दै किडार्क नेपालका कार्यक्रम व्यवस्थापक नवीन शाहीले कर्णाली प्रदेशका जनतालाई गरिबबाट मुक्त गर्ने उद्देश्यका साथ किडार्क नेपालको स्थापना भएको बताउनुभयो । कोभिड–१९ ले खासगरी दुःखी, गरिब तथा ज्याला मजदुरी गरेर खाने वर्गलाई असर पारेकाले किडार्क नेपालले यस्ता वर्गलाई सहयोग गरिहेको बताउँदै कार्यक्रम व्यवस्थापक शाहीले बच्चालाई गरिएको सहयोग बच्चा कै लागि खर्च हुनेमा विश्वस्त रहेको बताउनुभयो । 

यसै गरी वडा नं. २ का वडा अध्यक्ष बलबहादुर रोकायले जे जति प्राप्त रकम छ यसैलाई सही ठाउँमा सदुपयोग गरेमा यस्ता सहयोगहरु थपिदै जाने बताउनुभयो । जीवनमा आफू सधै संघर्ष गरेर यस ठाउँमा आइपुगेको जानकारी दिँदै अध्यक्ष रोकायले सहभागीहरुलाई जति सुकै कठिन परिस्थिति भए पनि संघर्ष गर्न सधै तयार रहनुपर्ने बताउनुभयो । 

‘हजुरआमाको सहारामा बसेको छु’

करिब एक दशकदेखि विवेकका बुवा बेपत्ता छन् । उनीकहाँ छन्, जिउदो छन् कि मृत अवस्थामा छन् अहिलेसम्म कसैलाई थाहा छैन । विवेक बुवालाई देख्न नपाएकोमा निकै छटपटिन्छन् । विवेक भन्छन्, ‘मेरा पनि बुवा भएको भए साथी सँगीका जस्तै मैले पनि बुवासँगै घुम्ने, रमाउने अनि नयाँ नयाँ लुगा किन्नुका साथै मिठो मिठो खानेकुरा खाने थिएँ ।’ विवकले यतिमा मात्र आफ्ना दुखेसो रोकेनन् । उनले आफ्नी आमा सुस्त मनस्थितिकी भएकी र घरमै बस्ने गरेको बताए । 

विवेक अहिले हजुरआमासँग बस्छन् । ५३ वर्षकी हजुरआमा काली थारुले आफूले प्राप्त गरेको विधवा भत्ताले नातीलाई पढाउने गरेको बताइन् । उनले नाती ठूलो भएर जागिर खाओस् भन्ने चाहेको पनि बताइन् । अहिले किडार्क नेपालले विवेकलाई चारहजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । 

‘चार बच्चा बच्चीकी अभिभावक कमला’

कमला सुनारले अहिले चारवटा बच्चा बच्चीलाई स्याहार सुसार गर्दै आएकी छिन् । दश वर्षका मानबहादुर बिकका आमा नानकौरा बिकको मुटु रोगका कारण गत वर्ष कोरोना लक डाउनका समयमा मृत्यु भयो । आमाको मृत्यु भएपछि बुवाले अर्को विवाह गरेर भारत तर्फ लागे । यता कमल सुनार भने सहारा बिहिन भए । बुवा भारत तर्फ र आमा नभए पछि भाउजु कमलाले देवर नाता पर्ने मानबहादुर बिकको लालन पोषण गर्दै आएकी छिन् । यसैगरी एलीसा बिक जन्मेको ६ दिनको दिन नै उनकी आमाले पनि मुटुकै रोगका कारण मृत्यु वरण गर्नुप¥यो ।

उनका बुवा पनि हालसम्म बेपत्ता छन् । कहाँ छन् के गर्दै छन् थाहा नभएको उनका आफन्तजनले बताए । यही अवस्थामा माइजु नाता पर्ने कमलाले एलिसाको पनि पालन पोषण गर्न थालिन् । कमला सुनार बिकका आफ्नै दुई बच्चा छन् । यसरी कमलाले आफ्ना दुई जना बच्चा र देवर भान्जीलाई पनि पालन पोषण गर्दा आर्थिक अभाव निकै खड्किरहेको बताइन् । अहिले किडार्क नेपालले मानबहादुर र एलिसालाई प्रतिव्यक्ति चार÷चार हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको छ । 

‘ठुलो भएर पुलिस भएर देश र आमाको सेवा गर्छु’

१७ वर्षकी शीतल बिक अहिले कक्षा ९ मा अध्ययनरत छिन् । करिब ८ वर्ष पहिले बुवाको मृत्यु भएपछि अहिले आमासँगै छिन् शितल । आर्थिक अवस्था कमजोर भए पनि कक्षा ९ मा अध्ययन गरिरहेकी शीतलले पढेर ठूलो भएपछि नेपाल प्रहरीमा जागिर खाएर देश र आमाको सेवा गर्ने बताइन् । अहिले ज्यालादारी काम गरेर छोरीलाई पढाइरहेकी शीतलकी आमाले आफ्ना दुःखका दिनहरु सुनाउदै भावविहलका साथ छोरीले पढेर केही गरोस् भन्ने चाहेको बताइन् । अहिले किडार्क नेपालले शीतललाई पनि चार हजार रुपैयाँ उपलब्ध गराएको छ । उक्त रुपैयाँ शीतलका लागि नै खर्च गर्ने शीतलकी आमाले बताइन् ।

शीतल, मानबहादुर, एलिसा र विवेक त गरिबीका प्रतिनिधि पात्र मात्र हुन् । आर्थिक अभावकका कारण दैनिक जीवन गुजारा गर्न र अध्ययन अध्यापन गर्न नपाएका थुपै्र बालबालिका नेपाली समाजमा छन् । यस्ता गरिव बालबालिकको सहारा बनिरहेको छ, किडार्क नेपाल । जसले कर्णाली प्रदेश जस्तो पिछडिएको प्रदेशमा आफ्ना कार्यक्रमहरुलाई लक्षित गरेर समाज सेवालाई टेवा पु¥याइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top