होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तरगतका विभिन्न शैक्षिक तथा प्रशासनिक कृयाकलापहरुलाई डिजिटल माध्यमबाट संचालन गर्न तथा विश्वविद्यालयलाई ई-यूनिभर्सिटीमा रुपान्तरण गर्ने उदेश्यका साथ Enterprise Resource Planning System (ERPS), Education Management Information System (EMIS), Learning Management System (LMS), ३५ वेबसाईट तथा मोबाईल एप्लिकेसनहरु निर्माण कार्यका लागी मिति २०७८/०७/२१ गतेका दिन मध्यपश्चिम विश्वविद्यालय तथा मीटिंग पोइण्ट प्राइभेट लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको उपस्थितिमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा मीटिंग पोइण्ट प्राइभेट लिमिटेडका तर्फ बाट डा. संबिधान आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा अन्य प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

विश्वविद्यालयले यस अघि जारी गरेको बोलपत्र आह्वानमा परेका १४ फर्महरुको आवेदनहरु मध्ये विभिन्न चरणको छनोट प्रकृया पश्चात मीटिंग पोइण्ट प्राइभेट लिमिटेड छनोट भएको हो। यस परियोजनाको कुल बजेट रु. ६५,३०,०००/- (भ्याट बाहेक) रहेको छ। यस सम्झौता पश्चात उक्त कार्य सम्झौता भएको दिन देखि ६ महिना भित्र सम्पूर्ण सिस्टमहरुको निर्माण कार्य सम्पन्न गरी हस्तानान्तरण तथा उपयुक्त तालिम प्रदान गरिसक्नु पर्ने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।
यो परियोजना सम्पन्न भए पश्चात विश्वविद्यालयमा हुने विभिन्न क्रियाकलापहरु चुस्त-दुरुस्त, पारदर्शीता पूर्ण तथा मध्यपश्चिम विश्वविद्यालयलाई प्रविधिमैत्री विश्वविद्यालयका रुपमा स्थापित गर्ने विश्वास गरिएको छ।