होमपेज / समाज
पोखरा । पोखरा क्षेत्रीय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ ।
विमानस्थल निर्माणको काम ८४ प्रतिशत पूरा भइसकेको छ भने अधिकांश पूर्वाधार पनि बनिसकेका छन्।शुरुमा आन्तरिक उडानमात्रै शुरु गर्ने र वैशाखपछि मात्रै अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यदलले सिफारिस गरेको पोखरा विमानस्थलका प्रमुखसमेत रहेका गौतमले बताए ।
विमानस्थल बनाउनु अघिसम्म पोखरामा वर्षा, ढल र नहरका पानीले विमानस्थलमा समस्या ल्याउला भनेर कसैले सोचेका थिएनन्। अहिले देखिएका सबैभन्दा ठूलो समस्या विमानस्थलमा बगेर आउने पानीको व्यवस्थापन गर्न नसक्नु भएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।
सन् २०१७ नोभेम्बर बाट निर्माण सुरु भएको विमानस्थल यही वर्षको जुनभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा थियो । कोरोना महामारीले चिनियाँ कामदार र आवश्यक उपकरण नआएकोले एक वर्ष म्याद थपिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको उडानका लागि अहिले पूर्वी भागको रिठ्ठेपानी डाँडा मुख्य समस्याको रुपमा रहेको आयोजनाको भनाइ छ । उक्त डाँडा कटानका लागि नापी कार्यालय र वन कार्यालयले रुखको लगत तयार नगरिदिँदा डाँडा कटान हुन सकेको छैन ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अन्य जमिनभन्दा होचो ठाउँमा छ। त्यही कारण पानीको स्वभावअनुसार बहेर विमानस्थल पुग्छ। देशमै सबैभन्दा धेरै पानी पर्ने पोखरामा वर्षाको पानी तर्काउन अहिलेसम्म पोखरा महानगरमा कुनै संरचना छैन।
निर्माणाधिन विमानस्थल नजिकै रहेको स्यानिटरी ल्यान्डफिल साइटको विकल्प नखोज्दा भविष्यमा उडानमा ‘बर्ड हाजार्ड’ हुने आयोजनाले चेतावनी दिँदै आएको छ ।