होमपेज / समाज
सुर्खेत । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८’ को सुखद् अवसरमा कर्णाली प्रदेशका प्रमुख गाेविन्दप्रसाद कलाैनीले सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ । आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रमुख कलाैनीले मुलुकमा भएका विभिन्न कालखण्डका सङ्घर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण वीर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडितहरू प्रति सम्मान प्रकट गर्नुभएकाे हाे।
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको फलस्वरूप ऐतिहासिक जननिर्वाचित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको महत्वपूर्ण दिनको सम्मान स्वरूप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका उल्लेख गर्दै प्रदेश प्रमुख कलाैनीले वर्तमान संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएकाे छ ।
प्रदेश प्रमुख कलाैनीले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न आवश्यक नीति निर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षहरू जिम्मेवारी पूर्वक लाग्ने अपेक्षा गर्नुभएकाे छ । साथै उहाँले आजको यस दिनले नेपाल सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेशको दीर्घकालीन सोच “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”लाई पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई थप प्रेरणा दिने विश्वास समेत गर्नुभएकाे छ ।
