ट्रेण्डिङ

होमपेज / समाज

संखुवासभा सामूहिक हत्याकाण्ड- रिस थियो एक जनासँग, मारे सिंगो परिवार

नेपालगाथा २०७८ भाद्र २७ गते आइतबार १४:१८:२२ मा प्रकाशित

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । शुक्रवार पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीले आफूले बदला लिन हत्या गरेको प्रहरीमा बयान दिएका छन् । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार लोकबहादुरले आफूमाथि भएको अपमानको बदला लिन तेजबहादुरको मात्रै हत्या गर्ने योजना बनाएका थिए ।

तर, हत्या गर्दा परिवारका अरू सदस्यले देखेपछि अन्यको पनि हत्या गरेको लोकबहादुरले प्रहरीमा बयान दिएका छन् । हिजो मात्रै उनले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ । तेजबहादुरले पैसा कमाइनस् भनेर आफूलाई हेप्ने गरेको भन्दै लोकबहादुरले बदला लिन खोजिरहेका थिए । 

घटनाअनुसार भदौ २१ गते बिहान तेजबहादुर खेताला खोज्न गएका थिए । खेताला भनेर फर्कँदै गर्दा लोकबहादुरले उनलाई पछ्याएका थिए । कोही नभएको मौका पार्दै दाउराले पछाडि टाउकोमा हिर्काए । त्यसपछि तेजबहादुरले ‘लोकेले मार्‍यो’ भनेर कराएको सुनेपछि सासुबुहारी कुद्दै गएका थिए । उनीहरू त्यहाँ पुग्दा तेजबहादुर ढलिसकेका थिए । सासूबुहारीलाई देखलेपछि पहिले सासूलाई चिर्पट प्रहार गरेर ढालेपछि बुहारीलाई हिर्काएको प्रहरीको भनाइ छ । 

तेजबहादुरका नातिनातिनाले घटना देखेपछि चिच्याउँदै हजुरआमा र आमा भएको ठाउँ पुगेका थिए । त्यसपछि बच्चाहरूलाई लोकबहादुरले खेदेर टाउकोमा चिर्पट प्रहार गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । त्यसपछि तेजबहादुरकी आमालाई कुँडो पकाएको ठाउँमा आएर कपालमा समातेर भित्तामा बजारेका थिए । आमाले पनि हल्ला सुनेको हुन सक्ने भन्दै उनलाई पनि लोकबहादुरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार हत्यामा प्रयोग गरिएको चिर्पटले आफ्नै घरमा लगेर कुँडो पकाइरहेको अँगेनामा हालेका थिए । पछि उनै लोकबहादुरले आफ्नो भाइलाई बोलाएर ‘कान्छा बडाउको शव भेटियो’ भन्दै हल्ला गरेका थिए । जबकि लोकबहादुरको घरबाट शव नदेखिने प्रहरीको भनाइ छ । घटनामा घरका ज्येष्ठ सदस्य ८९ बौद्धमान मात्रै सकुशल छन् । आँखा कम देख्ने र कम सुन्ने उनी मात्र जीवित थिए । 

बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती, ५२ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना, तेजबहादुरकै ११ वर्षीय नाति विपिन र नातिनी ७ वर्षीया गोमाको सामूहिक हत्या भएको थियो । तेजबहादुरका दुई छोरा विदेशमा थिए । उनीहरू आएर काजकिरिया गरिरहेका छन् । 

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको तथा संघीय प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान गरेको थियो । लाेकान्तरबाट।

उत्तम पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

Top