होमपेज / समाज
सुर्खेत । पत्रकारले समाचार लेखेको भन्दै ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला शाखा सुर्खेतले आपत्ति जनाएका छन् । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीविरुद्ध बलात्कार आरोप लागेको समाचार लेखेको भन्दै पत्रकारलाई फोन र सामाजिक सञ्जालमार्फत धम्की दिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समाचारप्रति चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै ज्यानै मार्ने धम्की दिनु निन्दनीय भएको महासंघ केन्द्रका महासचिव रोशन पुरी र शाखा सुर्खेतका सचिव ललितबहादुर बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्र र शाखा सुर्खेतले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै घटनाप्रति आपत्ति जनाएको हो । मन्त्री शाहीका प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्याय र अन्नपूर्ण दैनिकका कालिकोट संवाददातालाई ज्यान मार्ने धम्की दिएका थिए ।
दुई वर्षअगाडि आफ्नै स्वकीय सचिवकी श्रीमतीसँग यौन दुव्र्यहार गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ ।
महिलाले ढोका खोल्छिन् । भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन् । त्यसपछि महिला रोएको देखिन्छ । मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन् ।
आफूलाई मन्त्री शाहीको प्रेस सल्लाहकार बताउने सचिवालयका कर्मचारी नन्दकृष्ण अधिकारीका अनुसार ती महिलाका पति यसअघि शाही सांसद हुँदा स्वकीय सचिव थिए । ‘मन्त्री भएपछि उहाँले सचिवालयबाट हटाउनुभयो,’ अधिकारीले भने, ‘त्यसपछि मात्रै यो घटना बाहिर आएको हो ।’
हाल घटित घटनालाई भने मन्त्रीले ग्रान्डडिजाइन भन्दै प्रतिकार गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री भइसकेपछि सचिवालयबाट हटाएको झोकमा यस्तो आरोप लगाइएको उहाँको भनाइ छ । शाही गत वैशाखमा एमाले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोरक्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएसँगै मन्त्री भएका हुनु भएको थियो ।
मन्त्री शाही पछिल्लो समय सर्वोच्च अदालतको आदेशअनुसार सांसद पदबाट निलम्बनमा पर्नुभएको छ । तर मन्त्री पदमा भने कायम हुनुहुन्छ ।