ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा ५ हजार छोरीको बैंक खाता

नेपालगाथा २०७८ भाद्र ८ गते मंगलबार १२:०८:४४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका २४ स्थानीय तहबाट ५ हजारभन्दा बढी छोरीहरु ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रममा सहभागी भएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा कर्णालीका २४ वटा स्थानीय तहमा मात्रै ५ हजार २ सय ८० भन्दा बढी छोरीहरुको नाममा बैंक खाता सञ्चालन भएको हो ।

यस कार्यक्रमअन्तर्गत नयाँ जन्मने छोरीहरुको खातामा प्रदेश सरकारले प्रत्सोहनस्वरुप मासिक ५ सय रुपैयाँ जम्मा गरिदिने छ । उक्त रकम २० वर्ष पुगेपश्चात भुक्तानी लिन सकिने प्रदेश सरकारले जनाएको छ ।

कार्यक्रम कर्णालीका ७९ वटै स्थानीय तहमा लागू भएको छ । तर साउनको दोस्रो सातासम्म ५५ वटा स्थानीय तहले कार्यक्रमको विवरण पठाएका छैनन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुर्खेतको वीरेन्द्रनगरमा ५ सय ३२, भेरीगंगामा ४ सय १५, गुर्भाकोट ३ सय ५५, लेकबेंसीमा १ सय ५९ र पञ्चपुरी नगरपालिकामा ३ सय २ जना छोरीहरु कार्यक्रममा सहभागी भई बैंक खाता खोलेका हुन् ।

सुर्खेतको बराहतालबाट १ सय ४८, चिङ्गाडबाट १ सय २७ र सिम्ता गाउँपालिकाबाट १ सय ५४ जना छोरीहरु यस कार्यक्रममा सहभागी भएका हुन् ।

यो कार्यक्रमबाट कर्णालीमा छोरीहरुको भ्रुण हत्या तथा बालविवाह न्यूनीकरण र उच्च शिक्षामा छोरीको पहुँच विस्तारमा सहयोग पुग्ने प्रदेश सरकारको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top