ट्रेण्डिङ

होमपेज / समाज

सेनाले खोल्यो कृषि विज्ञान संस्थान

नेपालगाथा २०७८ श्रावण २६ गते मंगलबार २०:५६:२५ मा प्रकाशित

लमजुङ। नेपाली सेनाले लमजुङमा कृषि विज्ञान संस्थान स्थापना गरेको छ । संस्थानको प्रधानसेनापति पूर्णचन्द्र थापा र बलाधिकृत रथि प्रभुराम शर्माले संयुक्त उद्घाटन गरे । वेंसिसहर २, बगालेगाउँमा नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा संस्थान स्थापना गरिएको हो । प्रधानसेनापति थापाले उक्त कृषि विज्ञान संस्थानमा नेपाली सैनिक तथा गैरसैनिक परिवारका सन्तानले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने बताए ।

उनले भने, ‘कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यसले लक्ष्य हो । यस संस्थानबाट आधुनिक कृषि प्रणालीका क्षेत्रमा उल्लेख्य सहयोग पुग्नेछ ।’ उनले आधुनिक र वैज्ञानिक कृषि बिस्तार गरी देशको अर्थतन्त्रमा योगदान दिन कृषि विज्ञान संस्थानको स्थापना गरिएको उल्लेख गरे । उनले अवकासपछि नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्न कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने घोषणा गरे ।

रथि प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीतिमा खाद्य सुरक्षा समेत उल्लेख भएकोले कृषि तथा पशुपालनमा दक्ष जनशक्ति उत्पादन भई त्यसबाट प्राप्त हुने सीपले नेपाली सेना अवकासपछि विदेशमा गएर दुख गर्नुपर्ने अवस्था नआउने बताए । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल प्राप्त नभइरहेका बेला नेपाली सेना कृषि विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्तिले कृषिको व्यवसायिकीकरण र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले संस्थानले जीवन निर्वाह कृषि प्रणालीलाई मात्र नभई व्यवसायिक कृषिमा जोड दिनुपर्ने उल्लेख गरे ।

आगामी मंसिरदेखि पठनपाठन सुरु हुने संस्थानले बिएस्सीएजीको अध्यापनका लागि त्रिविबाट सम्बन्धनप्राप्त गरिएको छ । संस्थान स्थापनामा उदीपुरस्थित नेपाली सेना श्रीजंग गणले विशेष भूमिका निर्वाह गरेको हो । संस्थान हातामा कृषि क्षेत्रमा फलफूल तरकारी, फार्म स्थापना, फलफूलको बगैंचा, चिया बगान स्थापना गरिएको छ ।

संस्थानमा कुखुरा फार्म, गाई फार्म, बाख्रा फार्म, बंगुर फार्म, माछापोखरी स्थापना गरिएको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले जानकारी दिए । उनका अनुसार करिब ४ सय रोपनी क्षेत्रफल रहेको नेपाली सेना कृषि विज्ञान संस्थानको जग्गामध्ये २० प्रतिशतमा भौतिक पूर्वाधार, ५० प्रतिशतमा कृषि र ३० प्रतिशत क्षेत्रफलमा पशुपालन हुने भएको छ । संस्थान हातामा प्रशासन तथा शैक्षिक क्षेत्रमा भवनलगायतको पूर्वाधार, छात्राबास, प्रयोगशालाका निर्माण भैसकेको छ ।

हालसम्म नेपाली सेनाका सक्कल दर्जा र हितधिकारी गरी १ सय २० जनले प्रिडिप्लोमा, प्लान्ट साइन्स र एनिमल साइन्सको तालिम लिइरहेका छन् भने आगामी शैक्षिक सत्रबाट बिएस्सी एजीको अध्ययन हुने सहायक प्रिन्सिपल विनोद घिमिरेले जानकारी दिए ।नेपाली सेना कृषि विज्ञान संस्थानमा हाल यहाँ बंगुर, गाई, कुखुरा, बाख्रापालन गरिनुमका साथै कागती, कफी, चियापती, तरकारी खेती लगायत कार्यक्रमसमेत अघि बढाइएको छ ।

नेपाली सेनाले तालिम केन्द्र हुँदै बिएस्सी एजीसम्मको अध्ययन हुने नेपाली सेना कृषि विज्ञान संस्थान नेपालकै पहिलो हो । वेंसिसहरका नगर प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्की लगायतको सहभागिता रहेको कार्यक्रममा क्याम्पसका प्रिन्सिपल श्यामकृष्ण घिमिरेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top