ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश प्रमुख कलाैनीबाट ‘सातौं अन्तर्राष्ट्रिय योग दिवस’को शुभकामना

नेपालगाथा २०७८ असार ७ गते सोमबार ०९:३३:४१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सातौं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सम्पूर्ण कर्णालीवासीहरूलाई आरोग्यताको लागि शुभकामना व्यक्त गर्नुभएकाे छ। 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु भएअनुसार आज देशभर सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाउने गरिएको छ । संस्कृत भाषाको ‘योग’ शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्ता मुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा वृद्धि, सकारात्मक सोचको विकास लगायत सकारात्मक गुणको विकास हुने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको छ, जसलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरीसकेको छ ।

योग र ध्यानका लागि हाम्रो देश नेपाल एक पवित्र तपोभूमी हो । यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप र ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको इतिहास छ । हामीले मनाउने यस प्रकारका अन्तर्राष्ट्रिय र राष्ट्रिय योग दिवसहरूले हरेक नागरिकमा योगाअभ्यास गर्ने बानीको विकास गर्ने विश्वास लिएकाे प्रदेश प्रमुख कलाैनीले शुभकामना पत्रमा उल्लेख गर्नुभएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top