होमपेज / समाज
भरत बिसी, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अध्ययन अध्यापन कार्यको निरन्तरताका साथै सत्रान्त परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेकाे छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण देशमा लक डाउन भएकाले शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । यस परिस्थितिमा मध्यपश्चिम विश्वविद्यालयले सम्पूर्ण तहका चालु सेमेस्टरका कक्षाहरु अनलाइन माध्यमबाट संचालन गरिरहेकाे परीक्षा व्यवस्थापन कार्यालयले जनाएकाे छ।
परीक्षा व्यवस्थापन कार्यालयका परीक्षा व्यवस्थापन प्रमुख सह प्रा.डा. आनन्दप्रसाद सुवेदीद्वारा हस्ताक्षरित सूचनामा सबै सेमेस्टरका सत्रान्त परीक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमा तोकिएको परिक्षा केन्द्रमा नै हुने जनाइएकाे छ । सबै क्यामपसहरुलाई अनलाइन विधिबाटै विद्यार्थीहरुको पठनपाठन, आन्तरिक मूल्याङ्कनका क्रियाकलापहरु र मध्यवर्ती परीक्षा समेत संचालन गर्न उक्त सूचनामा भनिएकाे छ । सम्बन्धित सेमेस्टरको पढाई र आन्तरिक मूल्याङ्कनका सम्पूर्ण क्रियाकलापहरु समाप्त भएका विद्यार्थीहरुलाई उपल्लो सेमेस्टरमा अपग्रेड गरी निजहरुको अध्यापन कार्य अनलाइन विधिबाटै सुचारु गर्न परीक्षा व्यवस्थापन प्रमुखले पत्र मार्फत अनुरोध गर्नुभएको छ ।
सत्रान्त परीक्षा नदिई उपल्लो सेमेस्टरमा अपग्रेड गरिएका विद्यार्थीहरुको सम्बन्धित सेमेस्टरहरुका सत्रान्त परीक्षा कोभिड–१९ का अवस्था, यसको असर र नेपाल सरकारको निर्णय अनुसार उपयुक्त समयमा विद्यार्थीहरुलाई सहज हुने गरी सञ्चालन गरिने परिक्षा व्यवस्थापन कार्यालयले पत्रमार्फत सबैलाई जानकारी दिएको छ ।
