ट्रेण्डिङ

होमपेज / खेलकुद

राजस्थानले चेन्नईलाई पार्‍यो स्तब्ध

नेपालगाथा २०७७ आश्विन ७ गते बुधबार ०७:४६:३५ मा प्रकाशित

काठमाडौं । चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ ।

पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहोर्‍यो । राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनायो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । उनले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै शेन वाट्सनले ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए । राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिए । त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

टी–२० मा डेब्यु गरेका ओपनर यजश्वी जैसवाल ६ रन बनाएर आउट भएपनि स्मिथ र सामसनले दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । सामसनले ३२ बल खेल्दै १ चौका र ९ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए । स्मिथले ४७ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ६९ रन बनाए ।

राजस्थानको लागि २०० रन कटाउने क्रममा फास्ट बलर जोफ्रा आर्चरले अन्तिममा विष्फोटक ब्याटिङ गरे । उनले ८ बल खेल्दै ४ छक्का मद्दतमा अविजित २७ रन जोडे । चेन्नाईका साम करनले ३ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top