होमपेज / खेलकुद

सुधार केन्द्रमा संचालित आन्तरिक खेलकुद प्रतियोगिता समापन

नेपाल गाथा २०७६ असार ११ गते बुधबार २१:१३:१० मा प्रकाशित

काठमाडौं । आसरा सुधार केन्द्र रानीवारीकी अध्यक्ष श्रीमती प्रमिला खनालको प्रमुख आतिथ्यमा लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जुन २६, २०१९ को अवसरमा सोही केन्द्रमा आयोजित आन्तरिक खेलकूद प्रतियोगिता बुधबार समापन भएको छ । 
सो अवसरमा सुधार केन्द्रकी अध्यक्ष खनालले प्रतियोगितामा उत्कृष्ट भएका उपचाररत खेलाडी सदस्यहरुलाई पुरस्कार वितरण गर्नुभयो । उपचाररत सदस्यहरुको मनोवल उच्च राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चर्चा गर्दै उहाँले एउटा व्यक्तिले लागूऔषध सेवन गर्दा घर, समाज, राष्ट्र र समग्र विश्वको विकासको गतिलाई समेत अवरोध हुन सक्ने उल्लेख गर्नुभयो ।

समृद्ध राष्ट्र निर्माणको लागि लागू औषध रहित स्वस्थ जीवन भन्ने नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले समाजले विकासको तीव्र अपेक्षा गरेको अवस्थामा स्वास्थ्य समाजको लागि खेलकूद अपरिहार्य रहेको बताउनुभयो । मानव शरीरमा विष रोपेर अमृत प्राप्त गर्न नसकिने भएकाले मेरो भोजन नै मेरो जीवन हो भन्ने भावनालाई आत्मसाथ गरी व्यक्तिगत जीवनलाई उर्जाशील बनाउन उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा आसरा सुधार केन्द्रकी सचिव महिमा शाहले स्वागत मन्तव्य व्यक्त गर्दै जटिल चुनौतीको रुपमा देखा परेको लागूऔषध प्रयोग तथा ओसार पसारको समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्दको अन्तर्राष्ट्रिय दिवसलाई केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको चर्चा गर्नुभयो ।

उक्त अवसरमा सो केन्द्रमा उपचाररत सदस्यहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top